पूर्वराष्ट्रपति रामवरण यादवले कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताएका छन्।
पूर्वराष्ट्रपति यादवले जनतासँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रीत हुन पनि नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई सुझाव समेत दिए। प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसका नेताहरू देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता पनि व्यक्त गरे।
कांग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिए पनि सो पार्टी निराश बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्वराष्ट्रपति यादवको भनाइ छ।
पूर्वराष्ट्रपति यादवले विपी कोइरालाजस्ता नेताहरूले जनतासँग स्थापित गरेको सम्बन्धलाई समेत कांग्रेस नेतृत्वले बिर्सिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।