प्रदेश चारको वर्षे अधिवेशन जेठ १६ गतेदेखि सुरू हुने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको बैठक जेठ १६ गतेका लागि डाक्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष सिफारिस गरेको छ। बजेट अधिवेशनका रूपमा मानिने सो अधिवेशन छिट्टै गर्नु पर्ने भएपछि मन्त्रिपरिषद्ले सो गरेको हो।
बैठकले २० अर्बको सिलिङ तोकेर बजेट निर्माणलाई अगाडि बढाएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए। सरकारले सशर्त अनुदान र विशेष अनुदान बाहेक सरकाले २० अर्बको बजेट तयार पार्ने उनले बताए।
यसैगरी, बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा सीमाना हेरफेर गर्ने विषयमा पनि संघीय मामिला मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ। साविकको ल्वाङ घलेले गाविसका १ देखि ४ सम्मका वडालाई गाउँपालिकाको वडा नम्बर ८ र ५ देखि ९ सम्मका वडाहरूलाई गाउँपालिकाको वडा नम्बर ९ मा राख्नुपर्ने सुझावसहित संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको मन्त्री बस्नेतको भनाइ थियो।
यसैगरी, गोर्खाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न पनि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए। यस अगाडि विभिन्न गाउँपालिकाको विवादित केन्द्रको समस्या समाधान गर्न मन्त्रिपरिषद्को तेस्रो बैठकले भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको दुई सदस्यीय कार्यदल समेत गठन गरेको थियो।
सरकारले प्रदेश खोप ऐन २०७५’ विधेयक बनाउने सैद्धान्तिक सहमति दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल संयोजक रहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न गठित समितिले प्रतिवेदन पनि मन्त्रिपरिषद बैठकमा पेश गरेको छ । सो प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यविधि बनाई काम गर्न सोही समितिलाई जिम्मेवारी दिएको छ।