प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने कोशिस भइरहेको बताएका छन्।
सभामुख महराले दलहरूबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको पनि स्पष्ट पारे।
बुधबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन परिसरमा संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सकेसम्म सहमतिमै प्रतिनिधिसभा नियमावली बनाउन कोशिस गर्ने बताए।
बुधबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरूलाई निलम्बन गर्नुपर्ने अडान र त्यसको विपक्षमा प्रमुख प्रतिपक्ष कांग्रेस उभिएपछि प्रतिनिधिसभा नियमावलीमा विवाद भएको थियो।
एमाले नेता भानुभक्त ढकालले पनि सहमतिमै अघि बढाउन प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज कार्यसूचीबाट हटाउने निर्णय गरिएको बताए। उनले नियमावली सहमतिमै अघि बढाउन दलहरूबीच प्रयास हुने पनि स्पष्ट पारे।
प्रमुख प्रतिपक्ष कांग्रेसले अभियोग पुष्टि भएको फैसला अदालतले नगरेसम्म सांसदहरूलाई निलम्बन गर्न नहुने भन्दै नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गराएको छ ।
त्यसैगरी, कांग्रेसले विषयगत समितिको संख्या घटाउन पनि माग गरेको छ। मस्यौदा समितिमा १० वटा विषयगत समिति बनाउने प्रस्ताव गरिएकोमा कांगेसले असहमति जनाउँदै यसका पनि संशोधन प्रस्ताव दर्ता गराएको छ।
दलहरूबीचको विवादका कारण बुधबार पनि नियमावली पारित गर्ने कार्यसूची हटाउनु परेको संघीय संसद सचिवालयले जनाएको छ।
https://youtu.be/9Z-uoj1cSuk