सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रवादी अडान राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाइ बाहिर आएको हो।
मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले संसदमा समेत मुलुकको जिम्मेवारी आफूले लिने भनी दिएको अभिव्यक्ति भरोसायोग्य रहेको पनि स्मरण गराए।
सचिव भट्टराईले सरकारलाई सचेत गराउन भने विद्यार्थी संगठनहरूको गम्भीर ध्यानाकर्षण गराए।
सचिव भट्टराईले सरकारमाथि विश्वास गरेर मुलुकको शैक्षिक क्षेत्रका मुद्दा सम्बोधनका लागि आवश्यक पहल गर्न पनि विद्यार्थी संगठनहरूसँग आग्रह गरे।
अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहेका उनले मुलुकमा आएको परिवर्तनको नेतृत्व विद्यार्थी संगठनहरूको अथक परिश्रमको फल भएको दाबी समेत गरे।