सांसदहरूले प्रदेश २ को समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश २ का सांसदहरूले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेट गरी प्रदेश २ को समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्रदेश २ का सबै दलका सांसदहरूले समृद्धिका लागि ‘तराई–मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै सञ्चालन गर्न आग्रह गरेका थिए।
‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै सञ्चालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको प्रदेश २ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिए। उनले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सृजना हुनेतर्फ पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराइएको बताए।
पिछडिएको क्षेत्र भएकाले प्रदेश २ को विकासमा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद प्रदीप यादवले जानकारी दिए। सांसदहरूले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए। तटबन्ध निर्माण कार्यलाई तीव्रता दिएर बाढी र डुबान समस्या सदाका लागि अन्त्य गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको प्रतिनिधिसभाका सांसद यादवले बताए।
यता, प्रधानमन्त्री ओलीले पनि प्रदेश २ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताए। तराई, मधेशको शिक्षा, खानेपानी, सिंचाइलगायतका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा दिएको प्रदेश २ को मुख्यमन्त्री लालबाबु यादवले दिएका अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए।