संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मोदीको भ्रमणको क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्रीले बोलेको कुरा पार्टी र प्रदेश सरकारको धारणा बमोजिम नै रहेको स्पष्ट पारेका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको स्पष्ट पारेका हुन्।
५ दर्जन व्यक्तिको लाशमा टेकेर र संविधान सभामा कर्फ्यू लगाएर संविधान जारी गर्नेहरूले प्रत्येक पटक विश्वकै उत्कृष्ट संविधान भनेर भन्ने गरेको बताउँदै नेता श्रेष्ठले भने,‘उहाँहरूले संविधानलाई उत्कृष्ट भन्नुहुन्छ, हामी निक्रिष्ट भन्छौं।’
वर्तमान संविधान संघीयताको सवालमा विश्वमै कमजोर भएको उनको जिकिर छ।
अहिले संघीय शासन अनुकूल काम नभएको पनि नेता श्रेष्ठको गुनासो छ। उनले भने,‘मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन।’
त्यस्तै, उनले जनकपुरमा मोदी र ओलीको सम्बोधनको क्रममा राखिएको झण्डाबारेको विवादमा पनि त्यो कमजोरी परराष्ट्र मन्त्रालयको भएको टिप्पणी गरे।
उनले भने,‘संघीय सरकारको कमजोरी हो, परराष्ट्रमन्त्रीले आफ्नो प्रतिनिधि पठाएका छन्, उनीहरूले हेर्नुपर्दैन?, के तिनीहरूलाई त्यहाँ लाटालाई पापा देखाउन पठाएको हो र?’
उनले मोदीको दुई दिने राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मकता ल्याएको भए पनि खासै उपलब्धिमूलक नभएको टिप्पणी गरे। उनले थपे,‘रेलमार्ग, जलमार्ग र कृषिका विषयमा नयाँ केही भएन, यी विषयमा त रक्सी उही बोटलमात्रै नयाँ भनेझैं भयो।’