राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले २ नम्बर प्रदेशका मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि राखेर बोल्दा के गलत गरे? भन्दै प्रतिप्रश्न गरेका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘हामी त चुनावमा पनि संविधानको विरोध गरेर नै सहभागी भएको हो नि, जनताले हामीलाई राम्रो पोजिशन बनाएर पठाइदिए, संविधानप्रति असन्तुष्टि राखेर मुख्यमन्त्रीले बोल्दा के गलत गर्नुभयो त ? जुन कुराको लागि हामी अहिलेसम्म पनि लडिरहेका छौं।’ मुख्यमन्त्रीले भएको कुरा बोलेको उनको दाबी थियो।
कर्णले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले आफैं भारतले नाकाबन्दी लगाएको भनेर हल्ला गरे पनि अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदमा घण्टौं घण्टा भाषण गरेर भ्रमण सफल र फलदायी भएको भनेर बोलेको बताए।
हिजो संविधानको विरोध गरेर आफूहरू नाकामा धर्ना बस्दा भारतले नाकाबन्दी लगायो भनेको स्मरण गराउँदै नेता कर्णले भने,‘अहिले उहाँहरूले नै मोदीजीलाई वार्म वेलकम गर्नुभयो, जानकी मन्दिरमा त एउटै ड्रेस लगाएर दर्शन गर्नुभयो।’
मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको कर्णको विश्वास छ। उनले भने,‘मोदीजीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्नुभयो, यसले नेपालको धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुगेको छ, अब भारतबाट २/४ प्रतिशतमात्रै हिन्दु पर्यटकहरू ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रको ठूलो विकास हुन्छ।’
मोदीको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन भएकोले अयोध्यादेखि जनकपुरसम्म बस सञ्चालन हुनु जनकपुरको विकासमा ठूलो टेवा पुगेको उनको विश्वास छ।
उनले भने,‘नेपाल र भारतबीचमा विशेष सम्बन्ध छ, अब यो बस सेवा सञ्चालनसँगै धार्मिक पर्यटकहरू आउने/जाने क्रम हुन्छ, यो हाम्रो लागि खुशीको कुरा हो।’