नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यमा धेरै विषयमा मौनता साँधिएको आरोप लगाएका छन्।
संसदमा बोल्दै सांसद सिंहले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला भएको ४६ बुँदे समझदारीका धेरै विषय अहिले उल्लेख नभएकोमा चासो व्यक्त गरेका हुन्।
‘शेरबहादुर देउवा भारत जाँदा भएको ४६ बुँदे समझदारीमा धेरै कुरा प्रष्ट लेखिएको छ। त्यतिबेला पञ्चेश्वर आयोजनाबारे ज्वाइन्ट स्टेटमेन्टमा उल्लेख छ। तर, अहिले प्रधानमन्त्री मौन हुनुहुन्छ', सिंहले भने, 'अहिले १६ बुँदे र त्यसअघि १२ बुँदेमा धेरै कुरा समेटिन सकेको थिएन। ४६ बुँदे भन्दा क्लियर छ। टनकपुरको पानीको कुरा छ। अहिलेको भिजिटमा कहीँपनि देखिँदैन। कोशी गण्डक टनकपुर र शारदाको पानीबारे पनि।'
उनले जनकपुरलाई भारतमा मिसाउने भारतीय सांसदको ट्विटप्रति सरकारको मौनतामा समेत प्रश्न गरे।
'जनकपुरलाई भारतमा मिसाउने ट्विट भारतीय एमपीको आयो। तर, उनको धारणाको बारेमा सरकार मौन छ। प्रधानमन्त्रीले केही बोल्नु भएन। यही राष्ट्रियता हो?', उनले प्रश्न गरे।
सिंहले केपी शर्मा ओलीको भारत भ्रमण अघि थाइल्याण्ड गएका बेला भारतीय सुरक्षा अधिकारी भेटेको आरोप लगाए। उनले बोर्डरमा एसएसबीको दमनबारे सरकार मौन रहेकोमा समेत प्रश्न गरे। 'यस्तो कस्तो राष्ट्रियता हो?', उनको प्रश्न थियो।
https://youtu.be/qfrSN0v_bqo