सत्तारुढ नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भीर ध्यानाकर्षण गराए।
जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्ति कूटनीतिक मर्यादा समेत उल्लंघन हुने गरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गरे। छिमेकी देशका प्रधानमन्त्री आएका बेला मुलुकलाई कमजोर बनाउने खालको अभिव्यक्त आएकोमा भन्दै उनको आपत्ति छ।
उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाए।
उनले सो अभिव्यक्ति फिर्ता लिन पनि सांसद आजादको गम्भीर ध्यानाकर्षण गराए। मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेका थिए।
आजादको सो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले आपत्ति जनाएका हुन्। उनले नेपालको अस्मितमाथि नै प्रश्न उठाउने गरी आएको आजादको सो भनाइ कुनै पनि नेपालीलाई सैह्य नहुने चेतावनी पनि दिए।