प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका उनलाई आइतबार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो ।
चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी दिए।
उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको जानकारी दिए।
लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए।
शनिबार मात्रै राराबाट घर फर्किएका उनको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ।
उनी नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्य हुन्।