पाँच नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि सुरू हुँदैछ।
संसदको पहिलो अधिवेशन २२ पटक बैठक बसेर वैशाख २५ गते सकिएको थियो।
विभिन्न ८ विधेयक प्रस्तुत भएको पहिलो अधिवेशनबाट बाँकी रहेका तीनवटा विधेयक दोस्रो अधिवेशनले पारित गर्नेछ। त्यससँगै दोस्रो अधिवेशनले आर्थिक वर्ष ०७५/०७६ का लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम समेत ल्याउनेछ।
संसदको दोस्रो अधिवेशन अन्तर्गत सोमबार बस्ने पहिलो बैठकमा ५ वटा विषयहरू प्रस्तुत हुने कार्यसूची रहेको छ।
दिउँसो १ बजे बोलाइएको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेशसभाको आह्वान भएको पत्र सभामुख पूर्ण बहादुर घर्तीले पढेर संसदमा सुनाउने छन्।
त्यसपछि प्रदेशसभा नियमावली ०७४ को नियम १ सय २१ को उपनियम २ बमोजिम विधेयक सरकारका मन्त्रीले प्रदेश नं. ५ प्रदेश अन्तर्गत स्थानिय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफलका लागि बैठकमा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
उक्त विधेयक चैत १५ गते नै संसदमा छलफलका लागि प्रस्तुत भई विधायन समितिमा गएको थियो। उक्त विधेयक विधायन समितिबाट पुनः प्रदेश सभामा फिर्ता आएपछि ७२ घण्टा संशोधनका लागि समय हुने गर्दछ।
उक्त विधेयकलाई सभामुख पूर्ण बहादुर घर्तीले सभामा निर्णायार्थ पेश गर्नेछन्। बैठकमा सहभागी सांसदहरूले बहुमतले पारित गरे उक्त विधेयक संसदबाट पास हुनेछ।
त्यस्तै सोमबारको बैठकमा प्रदेशसभा नियमावली ०७४ को नियम १३३ को उपनियम २ बमोजिम प्रदेश नं.५ प्रदेश सरकारले आर्थिकवर्ष ०७५/०७६ का लागि तयार गर्न विनियोजन विधेयकका लागि सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी मुख्यमन्त्री शंकर पोखरेल तथा आर्थिक मामिला तथा योजना मन्त्री कुलप्रसाद केसीमध्ये एक जनाले संसदमा प्रस्ताव पेश गर्नेछन्।
त्यसपछि उक्त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने समय निर्धारण गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव मान बहादुर विकेले जानकारी दिए ।