पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विवेकशील साझा पार्टीले नाकबन्दी सम्झाउँदै कार्यालयमा टाँगेको तुल प्रहरीले हटाउनु चाकडी प्रदर्शनको भद्दा नमूना भएको बताएका छन्।
शुक्रबार विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौँ,' लेखिएको तुल टाँगेपछि प्रहरीले झिकिदिएको थियो।
नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टराईले ट्वीटरमार्फत उक्त कार्य अधिनायकवाद र भारतप्रति देखाएको चाकडीको नमूना भएको बताएका हुन्।
'विधिवत् दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानून विपरित नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टांगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद वा कसैप्रति चाकडी प्रदर्शनकै भद्दा नमूना हो। त्यसको सबैले प्रतिवाद गरौं!' उनले ट्विटरमा लेखेकाछन्।
नेपाली कांग्रेस नेता गगन थापाले पनि सामाजिक सञ्जालमार्फत् विवेकशीलले टाँगेको तुल झिक्नु निन्दनीय भएको बताएका थिए।
विवेकशील साझा पार्टीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे दुई वर्षअघि लगाएको नाकाबन्दी सम्झाउँदै तुल टाँगेको थियो।
तुल प्रहरीले झिकिदिएपछि 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,' लेखिएको बेलुन काठमाडौंको आकाशमा उडाएको छ।