विवेकशील साझा पार्टीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे दुई वर्षअघि लगाएको नाकाबन्दी सम्झाउँदै बेलुन उडाएको छ।
शुक्रबार अपरान्ह विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,' लेखिएका बेलुन ललितपुरस्थित पार्टी कार्यालयबाट उडाएको हो।
विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले समाजिम सञ्जाल ट्वीटरमार्फत् बेलुन आन्दोलन गरिएको बताएका छन्।
'बेलुनमा लेखेर उडायौं, 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौँ,' अब के गर्ने ?' उनले लेखेका छन्।
यसअघि विवेकशील साझा पार्टीले यही कुरा लेखेर पार्टी कार्यालयमा तुल टाँगेको थियो। त्यो तुल प्रहरीले झिकेर लगेको थियो।
रातो अक्षरमा तुल प्रहरीले लगेपछि 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,' लेखेर अर्को तुल टागिएको छ।