नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारका कारण एमालेसँगको पार्टी एकतामा शंका गर्नुपर्ने अवस्था आएको बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
नेता गुरुङले प्रधानमन्त्री ओलीले एकतर्फी ढंगले अघि बढ्न खोज्दा २ पार्टीबीचको एकतामा ढिलाइ हुन गएको पनि स्पष्ट पारे। उनले २ अध्यक्ष मध्ये एक जनाले पार्टी र अर्कोले सरकारको जिम्मेवारी लिएर काम गर्ने सहमति भएको दाबी गर्दै ओलीले फटाफट एक्लै निर्णय लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पार्टी एकतामा ढिलाइ नहुने तर विश्वासको वातावरण भने बनाउनुपर्ने पनि बताए।
नेता गुरुङले दुई पार्टीबीच एकता हुन नदिने विदेशीहरूले चलखेल गरिरहेको भन्दै सचेत हुनुपर्ने आवश्यकता पनि औंल्याए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भारतीय सुरक्षाकर्मीको व्यापक परिचालन गरिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।