पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्चा कम्युनिष्टहरू जहिले पनि एकताको पक्षमा हुने बताएका छन्।
महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत् देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने एउटा महान् उद्देश्यसहित अगाडि बढेका छौं।’
उनले पार्टी एकताबाट दायाँबायाँ गर्ने भन्ने हुनै नसक्ने बताउँदै आफू र प्रधानमन्त्री ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पारे।आफूहरू छलफलमा भएको र परिपक्क एकताको पक्षमा भएको अध्यक्षको धारणा थियो।
आफूहरूले हरेक निर्णयहरू सामूहिक तरिकाले छलफल गर्ने गरेको बताउँदै उनले अगाडि भने, ‘हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौं, त्यही दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन। उनीहरूले रुन पनि नपाउने भनेर प्रचार गरे। हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं।’
अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गए पनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको बताए।
‘अरुले पार्टी एकतामा जेजस्तो षडयन्त्र गरे पनि निर्णायक हामी नै हौं,’ उनले भने, ‘हाम्रो काम गर्ने कार्यशैलीमा हुने कमजोरीलाई सच्चाउन जरुरी छ। यसमा सबैको सहयोग चाहिन्छ। हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्याउने ठाउँ तिर लैजाँदै छौं। हामीले एउटा सही विचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं। यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं।’