सत्तारुढ दल नेकपा एमालेका नेता, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कसैले विरोध गर्नुको तुक नभएको स्पष्ट पारेका छन्।
उनले भने,‘मोदीजीलाई हामी भव्य स्वागत गर्छौं।’
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले मोदी भ्रमणको सबै किसिमका तयारीहरू पुरा भैसकेको जनाए। उनले भने,‘मोदीजीको भ्रमणको लागि सबै किसिमको तयारी पुरा भयो, भ्रमण पहिलाको जस्तो परम्परागत होइन, यो पटकको भ्रमण पृथक छ, त्यसैले भ्रमणलाई लिएर क्रिया तथा प्रतिक्रिया आउनु स्वभाविक हो।’
साक्षात्कारमा उनले भ्रमणको विषयवस्तुको बारेमा कम छलफल तर आलंकारिक (कस्मेटिक) विषयमा बढी चर्चा भएको बताए। उनले मोदीको स्वागत र सम्मानको लागि जनकपुरमा नागरिक अभिन्दन राख्नु नौलो कुरा नभएको बताए।
उनले थपे,‘जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले सम्मान राख्ने भनेपछि यसको किन विरोध गर्नु ? केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै छ, यो चलन हो।’
त्यस्तै, उनले मोदी किन पहिले काठमाडौं नआइकन जनकपुर आउन लागेको भनेर बहस भए पनि यो आजको विश्व कुटनीतिक अभ्यासमा भैरहेको कुरा भएको बताए।
नेता भट्टराईले नेपालका तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल भारत भ्रमणमा जाँदा पनि भव्य अभिनन्दन भएको स्मरण गराउँदै भने,‘सन् २००९ मा माधव नेपाललाई दिल्लीमा भव्य नागरिक अभिनन्दन भएको हो, सन् २०१६ मा हाम्रो प्रधानमन्त्री ओली भारत जाँदा गुजरातको हजमा र दिल्लीमा दुई ठाउँमा अभिनन्दन गरिएको थियो, यसपटक पनि हाम्रो प्रधानमन्त्रीलाई उत्तराखण्डमा पनि त्यही किसिमको नागरिक सम्मान भएको थियो।’
‘यो हाम्रो परम्परा हो, १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो,’ भट्टराईले भने, ‘विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै हो। हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाउँ–ठाउँमा नागरिक अभिनन्दन हुन्छ।’
उनले मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनुसमेत जायज नभएको बताए।
‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ। यो पनि हाम्रो परम्परा हो,’ उनले भने, ‘हामी सानै हुँदादेखि नै सुन्दै आएका हौं, साँचो बुझाउने कुरा।’
https://youtu.be/RSXuNBsyfPU