बिहीबार बिहानको तीन बजेतिर आयोजित पत्रकार सम्मेलनमा ९२ वर्षीय महाथिर मोहमदले भने– हो, म अझै जिउँदै छु।
महाथिरको यो भनाइसँगै भएको बिहीबारको सूर्योदय दक्षिण पूर्वी एसियाली मुलुक मलेसियाका लागि धेरै अर्थमा नौलो थियो।
बिट्रिस उपनिवेशबाट १९५७ मा स्वतन्त्र भएपछि लगातार शासन गरिरहेको गठबन्धन चुनावमा पराजित भयो।
महाथिरको पकाटान हारापन (आशाको गठबन्धन)ले २२२ मध्ये ११३ सिटमा जित हात पार्यो। सत्तारुढ बरिसन नेसनल ७९ सिटमा खुम्चियो।
स्वतन्त्र भएपछिको मलेसियाली इतिहासमा पहिलो पटक सत्ता अर्को पार्टीलाई हस्तान्तरण हुने भयो।
यी सबैको केन्द्रमा छन्, महाथिर। जो दुई वर्षअघिसम्म सत्तारूढ गठबन्धनमा आवद्ध थिए। सोही गठबन्धनबाट सन् १९८१ मा प्रधानमन्त्री बनेका महाथिरले २००३ मा सत्ता छोडेका थिए।
त्यतिमात्र होइन अहिलेका प्रधानमन्त्री नाजिब रजकलाई राजनीतिको बाटो देखाउने पनि महाथिर नै हुन्।
महाथिरको २२ वर्षको नेतृत्वमा मलेसियाले विकासमा फड्को मारेको थियो। उनलाई आधुनिक मलेसियाको पिता पनि भनिन्छ।
आलोर सेटलारमा जन्मिएका महाथिर २१ वर्षका हुँदा युनाइटेड मलायज नेसनल अर्गनाइजेशन (युएमएनओ)को राजनीतिमा लागे।
१९६४ मा सांसद नियुक्त हुनुअघि उनी बिरामी चेकजाँच पनि गर्थे।
प्रधानमन्त्री टुंकु अब्दुल रहमानसँगको विवादपछि उनी सन् १९६९ मा पार्टीबाट निष्कासित भए। रहमानको राजीनामापछि उनी फेरि युएमएनओमा सक्रिय भए।
सन् १९७४मा पुनः सांसद निर्वाचित भएका उनी १९८१ मा मलेसियाका प्रधानमन्त्री बने।
धेरैले उनलाई बहुसंख्यक मुस्लिम मलाय समुदायको मसिहा मान्छन्। मलेसियाको आर्थिक उन्नतिका लागि उनैले अपनाएको नीतिलाई श्रेय दिइन्छ। विश्वमञ्चमा मलेसियाको भूमिका खोज्ने महाथिरको भिजनले क्वालालम्पुरमा ट्वीनटावर बनेको थियो।
उनले कडा तरिकाले शासन चलाए। मानव अधिकार उल्लंघन गरेको, न्यायपालिकाको अपमान गरेको, विपक्षीलाई जेल हालेको, बहुजातीय समाजमा जातीय विभाजन ल्याउने नीति ल्याएको भन्दै उनको आलोचना हुन्छ।
७७ वर्ष हुँदा सन् २००३ मा उनले सत्ता छोडे। त्यसपछि पनि उनी राजनीतिबारे बोलिरहे।
प्रधानमन्त्री अब्दुल्ला अहमद बडावीको आलोचना गर्दै सन् २००८मा उनले पार्टी परित्याग गरे। केहीले उनको .पार्टी परित्यागलाई आफैंले उत्तराधिकारी बनाएका बडावीलाई राजीनामा दिन बाध्य पार्ने चाल भएको मान्छन्। बडावीले राजीनामा दिएपछि उनी फेरि पार्टीमा फर्किए।
वानएमडिबी विकास कोषमा भएको अर्बौंको भ्रष्टाचारबारे उनका राजनीतिक चेला प्रधानमन्त्री रजाकसँग मनमुटाव भएपछि उनले सन् २०१६ मा फेरि युएमएनओ परित्याग गरे। यसपालि भने उनी पार्टीमा फर्किएनन् बरु विपक्षीसँग मिलेर गठबन्धन बनाए। उपप्रधानमन्त्री हुँदा आफैंले हटाएका र अहिले जेलमा रहेका नेता अनबर इब्राइमसँग मिले।
आफूलाई दुई दशक प्रधानमन्त्री बनाएको पार्टी आफैंले राजनीति सिकाएका रजाकविरुद्ध २ वर्षमा अभियान चलाए र चुनाव जिते पनि।
उनले रजाकलाई छानेर आफूले जिन्दगीमा सबैभन्दा ठूलो गल्ती गरेको र त्यो गल्तीलाई सच्याउन चाहेको बताएका छन्।
महाथिरको जितसँगै मलेसियाको भावी राजनीतिमा भने केही अस्पष्टता देखिएका छन्। मलेसियाको भावी राजनीति केही महत्वपूर्ण प्रश्नको उत्तरमा निहित हुनेछ।
स्वतन्त्रतादेखि विभिन्न स्वरूपमा देश चलाइरहेको बरिसन नेशनल गठबन्धनले कत्तिको सहजै आफ्नो शक्ति छोड्छ? नजिव रजाकलाई सत्ताच्यूत गर्ने उद्देश्यले मात्रै बनेको अहिलेको गठजोडका पार्टीले कसरी सँगै सरकार चलाउँछन्? र भ्रष्टाचार र लालचको आरोप लागेका नजिव रजाक र उनकी खर्चालु पत्नीलाई नयाँ सरकारले के गर्छ?
महाथिरले चुनावी अभियानका क्रममा जेलमा रहेका अनबर इब्राहिमलाई माफीका लागि पहल गर्ने र दुई वर्षपछि उनलाई सत्ता हस्तान्तरण गर्ने वाचा गरेका छन्।
सन् १९९८ इब्राहिमलाई महाथिरले आफ्नो क्याबिनेट र पार्टीबाट निष्काशन थिए। प्रतिभावान इब्राहिम महाथिरका उत्तराधिकारी मानिन्थे। आफ्ना प्रतिष्पर्धीलाई पन्छाउन इब्राहिममाथि महाथिरले त्यो बेला कारबाही गरेको मान्नेहरू धेरै छन्।
के महाथिरले इब्राहिममाथिको त्यो अन्यायको क्षतिपूर्ति दुई वर्षपछि भर्लान्?