राष्ट्रियसभा सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठूलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रियसभा सांसद उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठूलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन्ए। उनले के हामीले भारतीय प्रधानमन्त्री र उनीसँगै आउने पाहुनाको सुरक्षाको प्रत्याभूति दिन सक्दैनौं ? भनी गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।
राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सीमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न आग्रह गरिन्। भारतीय दूतावासलाई नेपालमा ५ करोड रुपैयाँसम्मको योजना सञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै उनले वर्तमान सरकारको राष्ट्रवाद यही हो ?भनि प्रश्न गरिन्।
त्यस्तै, तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपूर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दु:ख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराए।