राणा शासन र त्यसको सेरोफेरोमा इतिहास लेखेर ख्याति कमाएका इतिहासकार हुन् पुरुषोत्तमशमशेर जबरा। बयानब्बे वर्षीय जबराका ‘श्री ३ हरूको वृत्तान्त भाग–१’, ‘वृत्तान्त भाग–२’, ‘देखेका र सुनेका कुराहरू’ लगायतका आधा दर्जन पुस्तक प्रकाशित छन्। स्वास्थ्य समस्याका बाबाजुद पनि उनी अहिले पुराना घटनाक्रमहरूको लेखनमै लागिरहेका छन्। उनै इतिहासकार जबरासँग सेतोपाटीका
निर्भीकजंग रायमाझीले गरेको कुराकानी।
तपाईं नेपाली राजनीतिको लामो समयखण्डको साक्षी हुनुहुन्छ, नेपालको राजनीति सधैँ अस्थिर हुनुको खास कारण के हो?सधैँ झै–झडा मात्र भइरहने राजनीतिले केही दिन सक्दैन। विभिन्न हस्तक्षेप र आफैं आन्तरिक रूपमा कमजोर भएकाले नै हाम्रो राजनीति अस्थिर भएको हो।
फेरि हिजोआज मैले त राजनीतिक कुरा गर्नै छोडेँ। जोसुकैले पनि गरेको छ। चोकमा बसेर गफ चुट्नेले पनि राजनीतिको ठूलाठूला कुरा गरेको छ। राजनीतिको मूल तत्त्व बुझेको छैन खाली पत्र–पत्रिका पढेर गफ लाउने बेला पो आयो।
खासमा इतिहास भनेको चाहिँ के हो? सबैले बुझ्ने गरी बताइदिनुहोस् न?इतिहास भनेको कल्पना गरेर, बनाएर लेखिने कुरा होइन। जे देखेको हो, सत्य हो त्यो पो लेख्नुपर्छ। आफ्नो मनको कुरा लेखेर इतिहास हुँदैन। सबैलाई बुझाउन सक्ने गरी प्रमाणसहित विगतका घटना भन्न सके मात्र त्यो इतिहास हुन्छ।
यहाँको परिवारको बारेमा धेरै पाठकहरूलाई जिज्ञासा हुन सक्छ, तपाईंहरूको सामान्य वंशक्रम बताइदिनुस् न? हामी प्रधानमन्त्री वीरशमशेरका सन्तान हौं। वीरशमशेरको काइँला छोरा रुद्रशमशेर मेरा हजुरबुबा हुन्। वीरशमशेरको जेठो छोरा चाहिँ गेहेन्द्रशमशेर हुन् जो नेपालको पहिलो वैज्ञानिक भनेर चिनिन्छन्।
मेरो हजुरबुबा रुद्रशमशेर नेपाली सेनाको कमाण्डर इन चिफ पनि हुनुभयो साथै नेपालको प्रथम फिल्ड मार्सल पनि हुनुभयो। नेपाल जस्तो देशको सेनामा फिल्ड मार्सल हुनु धेरै गौरवको कुरा हो। उहाँको जेठो छोरा महासेनानी ईश्वरशमशेरको तीन छोरामध्ये जेठो म हुँ। हामी तीन भाइ थियौँ। बुबाहरूको पुस्ता सैन्य सेवामा लागेपनि हामी चाहिँ लागेनौँ।
अहिले धेरै युवाहरू विदेशी भूमिमा छन्, कतिपय त उतैको नागरिक पनि भइसके। आम नेपाली युवापुस्तालाई यहाँको सम्बोधन के छ? यो देशमा त के राम्रो के नराम्रो भन्ने नै छैन। यहाँ त ‘जोडजुलुम’ गर्नेको मात्र हैकम छ। मन्त्री, प्रधानमन्त्री भइसकेकाहरूले पनि हाम्रो जग्गामा आँखा लगाएका छन्। प्रधानमन्त्री भइसकेको मानिस त यहाँ जग्गाको लागि मरिमेट्छन् भने यो देशमा कसको विश्वास गर्ने?
अबको पुस्ता भने त्यस्तो हुन भएन। आफ्नो पौरखले बाँच्न सिक्नुपर्छ। विदेशीको गुलाम बन्न हुँदैन। समय चिन्न सकेर अघि बढ्नुपर्यो।
राणा परिवारमा घटेका धेरै घटनाहरूको साक्षी हनुहुन्छ तपाईं, आम नेपालीहरू र राणा शासकबीचको कुनै रोचक प्रसंग बताइदिनुस् न? यस्ता घटनाहरू त धेरै भए। मलाई सम्झन गाह्रो पर्यो। कवि देवकोटाको एउटा घटना चाहिँ याद छ।
लक्ष्मीप्रसाद देवकोटा त्यसबेला मन्त्री भएका थिए। डा. केर्आइ सिंहले उनलाई शिक्षामन्त्री बनाएका थिए। त्यसबेला उनी लीलाशमशेरको घरमा पनि आइरहन्थे। मेरा भतिजाहरूले त्यसबेला नेपालमा सिनेमाघर खोलेका थिए तर नाम भने राखिसकेका थिएनन्। देवकोटा राणाजीहरूको घरमा आउँदा भुइँमा ओछ्याइएको गलैँचामा बस्ने गर्थे। तर यसबेला उनी मन्त्री भएर आएकाले लीलाशमशेरलाई देवकोटालाई भुँइमा बसाएर आफू चाहिँ गद्दीमा बस्न संकोच माने। यसैले लीलाशमशेर पनि भुइँको गलैँचामा नै मन्त्री देवकोटासँगै बसे।
मेरा भतिजाहरूले खोलेरको सिनेमा घरको नाम पनि उनले त्यसै दिन एकैछिनमा सोचेर राखिदिए। देवकोटाले एकै बसाइमा सिनेमा घरको नाम ‘विश्वज्योति’ भनेर राखिदिए। जुन आजसम्म कायम छ।
राणा भइकन पनि प्रजातन्त्र प्राप्तिका लागि यहाँले संघर्ष गर्नुभयो त्यसपछि पनि तपाईको जीवनमा धेरै उतारचढाव आए, यी सबै कुराहरूलाई मूल्याङ्कन गर्दा जीवन के हो भन्ने लाग्छ यहाँलाई?सम्झँदा जीवन भनेको चाहिँ यस्तै हो जस्तो लाग्छ। त्यो समय कस्तो थियो, यो समय कस्तो थियो भन्ने कुरा सम्झिनु पनि त जीवन नै हो। जस्तो अहिले म त्यति हिँडहुल गर्न सक्दिनँ। एकैठाउँमा कोचिएर बस्नुपरेको छ। यसकारण, जीवनमा उर्जाशील समय एकपटक मात्र आउँछ। त्यसै समयमा मानिसले आफ्नो कार्यहरू फत्ते गरिहाल्नुपर्छ।