उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय मातहातका निकायहरूमा रहेको सबैखाले सिण्डिकेट अन्त्य गर्ने स्पष्ट पारेका छन्।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले सो कुरा स्पष्ट पारेका हुन्।
वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताउँदै उनले भने,‘गृहमन्त्रालयबाट सुरू भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरू गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरू अहिले तह लागेका छन्, अहिले व्यवसायीहरूले पनि हाम्रो अभियानलाई सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं किनकी अब ज्यानमारा सिण्डिकेट अन्त्य भएको छ।’
मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए । उनले भने,‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं।’
उनले नेपालमा अब कुनै पनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए ।
पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने,‘नेपाल आयल निगममार्फत सरकारले नै पेट्रोलियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन, तर पनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं।’
‘मोदीलाई उच्च सम्मानका साथ स्वागत गर्छौं’ मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सरकारले उच्च सम्मानका साथ स्वागत गर्ने विश्वास दिलाए ।
आफूहरू भारत भ्रमणमा जाँदा नेपालको प्रधानमन्त्रीलाई भव्य स्वागत भएको स्मरण गराउँदै उनले भने,‘केही समय अघि हामी भारत भ्रमणमा गएका थियौं, हाम्रो प्रधानमन्त्रीलाई भारतमा भव्य स्वागत भएको थियो, हामी पनि उहाँलाई भव्य स्वागत गर्छौं।’
नेपालीहरूको संस्कार नै पाहुनालाई स्वागत गर्ने भएकोले मोदीको स्वागतको लागि कुनै कसर बाँकी नराख्ने मन्त्री यादवको भनाइ थियो।
उनले भने,‘हामी उहाँलाई उच्च सम्मानका साथ स्वागत गर्छौं, उहाँको भ्रमणको दौरान हाम्रो प्रधानमन्त्री र मोदीबीच छलफल हुन्छ, मोदीको भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुदृढ हुन्छ र अझै उचाइमा पुग्छ।’