दुई दिने भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सुरक्षाका लागि ८६ भारतीय कमाण्डो नेपाल आएका छन्।
मंगलबार काठमाडौं, जनकपुर र मुस्ताङ पुगेका भारतीय कमाण्डोले मोदीको सुरक्षा गर्नेछन्।
स्रोतका अनुसार मंगलबार बिहान ११ बजे भारतीय वायु सेनाको कार्गो विमानबाट मोदीले प्रयोग गर्ने २ ओटा बुलेटप्रुफ कार र बन्दोबस्तीका साथ ६१ जना कमाण्डो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए।
काठमाडौं आएका ६१ मध्ये १५ जना कमाण्डो बस्दोबस्तीका सामाग्रीसहित मुस्ताङ पुगेका छन्।
दिउँसो ३ः१५ बजे बुद्ध एअरको विमानमार्फत् उनीहरु पोखरा गएर उनीहरू मुस्ताङ पुगेका हुन्।
बाँकी ४६ जना कमाण्डो काठमाडौंमै छन्।
काठमाडौंमा रहेका कमाण्डोले मोदी बस्ने होटल हायत र कार्यक्रम स्थलको सुरक्षा अवलोकन गर्नेछन्। मोदी आएपछि सुरक्षा उनीहरू सुरक्षामा खटिनेछन्।
मंगलबार नै भारतीय वायु सेनाको विमानबाट २५ जना कमाण्डो जनकपुर पुगेका छन्।
नेपाल आएका भारतीय कमाण्डोले आवश्यक हातहतियार र बन्दोबस्तीको सामान उतैबाट ल्याएको स्रोतले बतायो।
मोदी आउनु अगावै नेपाल आएका भारतीय कमाण्डोले नेपाली सेनासँग समन्वय गरी मोदीको सुरक्षा गर्ने छन्।
मोदी भ्रमणका क्रममा काठमाडौंमा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको तयारी छ।
मोदी भम्रणको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्नेछ। मोदी सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी हुनेछन् भने दोस्रोमा नेपाली सेना रहनेछ। त्यस्तैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गर्ने सरकारले तयारी गरेको छ। मोदीको सुरक्षामा प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरसमेत परिचालन पनि गरिनेछ ।
मोदी आफ्नै बुलेट कारमा सवार हुनेछन्। भारतीय कमाण्डोले मोदीको भ्रमणका प्रयोग गर्न रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी पनि ल्याइएसकेको छ। दुईवटा गाडीमध्ये एउटा जनकपुर पठाउने र एउटा काठमाडौंमै रहने स्रोतले जानकारी दियो।
मोदी वैशाख २८ गते बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा बिहारबाट जनकपुर आउनेछन्। त्यही दिन काठमाडौं आउने उनी अर्को बिहान मुस्ताङको मुक्तिनाथ जाने छन्।