उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक चीन आएका छन्। सोमबार चीनको उत्तरपूर्वी सहर डालियन आएका उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गरेका छन्।
गत मार्चमा रेल ल्याएर बेइजिङ आएका किम यसपालि जहाजमा डालियन आएका हुन्।
दुई नेताबीचको भेटमा दुई देश र पार्टीका विषयमा गहिरो छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। थप कुराकानीबारे भने खुलाइएको छैन। यसअघि दुबै देशका सञ्चारमाध्यमले किमको भ्रमणबारे केही खुलाएका थिएनन्।
आगामी जुनमा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पसँगको शिखर वार्ताअघि किम आफ्नो सबैभन्दा ठूलो नजिकको मित्र चीन भ्रमणमा आएका हुन्।
यसअघि गत मार्चमा किम हरियो रङको रेलमा चढेर बेइजिङ आएका थिए। उनको भ्रमणलाई दुबै देशले गोप्य राखेका थिए। चीनबाट फर्केपछि वैशाख १४ गते किम दक्षिण कोरियाको सीमावर्ती क्षेत्र पुगेका थिए। राष्ट्रपति मुन जाय इनसँग उनले शिखर वार्ता गरेका थिए।
उनीहरूबीच कोरियाली युद्दको अन्त्यलगायत विषयमा सहमति भएको थियो।
अघिल्लो साता चिनियाँ विदेश मन्त्री वाङ यीले प्योङयाङ भ्रमण गरेका थिए।