राजनीतिक दलका नेता तथा परराष्ट्रविद्हरूले डुबान र सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीको नेपाल भ्रमणमा उठाउने एजेण्डाका विषयमा छलफल गर्न बोलाएको बैठकमा राजनीतिक दलका नेताहरूले तत्काल समाधान हुने गरी डुबान र सीमाका विषयमा कुरा उठाउन सुझाव दिएका हुन्।
त्यस क्रममा परराष्ट्रविद्हरूले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गरेका थिए। डुबान र सीमालगायतका समस्या तत्काल सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवम् एमाले नेता राजन भट्टराईले जानकारी दिए।
उनले राजनीतिक दलका नेताहरूले पनि विगतमा भारतसँग गरिएका समझदारी कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताए।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा भइरहेको तयारीबारे पनि जानकारी गराएका थिए। राजनीतिक दलका नेताहरूले बजेट विकास, निर्माणको काममा केन्द्रीत हुने गरी ल्याउन सरकारलाई सुझाव दिएका थिए।
बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा नेपाल भारत प्रबुद्ध समूहका संयोजक भेषबहादुर थापालगायतको उपस्थिति रहेको थियो।
https://youtu.be/o8uJgUUqSg0