भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई पूर्ण सुरक्षित बनाउन महोत्तरी र भारतीय सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।
भारत विहारको सितामदी र मधुबनी जिल्लाको सीमासँग जोडिएको ३९.६ किलोमिटर महोत्तरीको मटिहानी जलेश्वर मनरा नगरपालिका तथा सम्सी सोनमा गाउँपालिकाको प्रमुख सीमा नाकामा निगरानी बढाइएको हो।
सीमा नाकाबाट आवतजावत गर्नेहरूप्रति विशेष रूपमा निगरानी राख्न थालिएको छ ।यसका साथै,सीमाक्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको व्यापकरूपमा गस्ती बढाइएको छ।
अतिवादी घुसपैठ हुन सक्ने र लुकीछिपी बस्न सक्ने स्थलको पहिचान गरी निगरानी र सुरक्षा पहुँच बढाउन थालिएको महोतरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए। भारतीय सीमामा २ वटा सिसि क्यामेरा जडान गरिएको छ ।
‘सुरक्षा व्यवस्थित बनाउन सीमावर्ती भारतीय सुरक्षा निकायका समकक्षीसँग समन्वय गरिरहेका छौं’, प्रजिअ श्रेष्ठले भने।
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई लिएर भारतको सीतामाढीमा नेपाल भारत दुवै देशका सुरक्षा अधिकारीले आ–आफ्नो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको उनले बताए ।
होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच बढाइएको छ।
महोत्तरीको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा प्रबन्ध गरिएको उच्च अधिकारीको भनाइ छ।