प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन्।
ओलीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका हुन्।
बालुवाटारमा भएको छलफलमा ओलीले यसअघि भारतसँग भएको जलमार्ग, कृषि र रेलमार्गसम्बन्धी घोषणालाई सम्झौतामा परिणत गर्न लागिएको बताएका हुन्।
‘यो भ्रमण यसअघिकै भ्रमणको निरन्तरता हो भन्नुभयो’, रेग्मीले सेतोपाटीसँग भने, ‘यसअघि भएका घोषणाहरूलाई सम्झौता बदल्ने कुराहरू हुने भन्नुभयो।’
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि मोदीको नेपाल भ्रमणबारे कुराकानी भएको ट्विट गरेका छन्। भट्टराईले गच्छे अनुसार सुझाव दिइएको लेखेका छन् तर उनले के सुझाव दिएको? भन्ने उल्लेख गरेका छैनन्।
मन्त्रिपरिषद् बैठकले सोमबार मोदीको नेपाल भ्रमणको कार्यक्रम टुङ्गो लगाएको थियो। मोदी आउँदो शुक्रबार दुई दिने नेपाल भ्रमणमा आउँदैछन्।
पूर्वप्रधानमन्त्रीहरूसँग ओलीले बजेट निर्माण र नीति तथा कार्यक्रमका विषयमा समेत छलफल गरेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले वस्ती स्थानान्तरणको विषय प्रमुखताका साथ उठाएका थिए। अव्यवस्थित बसोबास विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरू स्थानान्तरणको प्रस्ताव ओलीले गरेको सचिवालयले जारी गरेको नोटमा उल्लेख छ।
https://youtu.be/YTvHgFIvqD0