नेकपा माओवादी केन्द्रका सांसदहरूले बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।
उनीहरूले वाम गठबन्धनको निर्वाचन घोषणापत्र एउटै भएकाले बजेट निर्माणमा आफूहरूको सुझाव समेटिनुपर्ने बताएका हुन्।
बैठकपछि माओवादी केन्द्रका सचेतक देव गुरुङले घोषणा पत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय भएको बताए।
एक माओवादी सांसदका अनुसार बजेटमा एमालेले एकलौटी गर्न लागेको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए। सांसदहरूले बजेटबारे प्रश्न उठाए पनि प्रचण्ड भने प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै उठेका थिए। बैठकमा माओवादी मन्त्रीहरूले मन्त्रालयगत बजेट निर्माणबारे जानकारी गराएका थिए। साथै, लिखित सुझाव पठाउन सांसदहरूलाई निर्देशन दिएका थिए।
‘सांसदहरूले आफ्ना आकांक्षा अनुसारका योजना पर्ने नपर्नेबारे सोध्नुभयो’, माओवादी प्रवक्ता पम्फा भुषालले भनिन्, ‘अध्यक्षज्यूले बजेटमा छलफल भएको छैन। अब गर्छु भन्नुभएको छ।’
माओवादी सांसदहरूले संसद विकास कोष र योजना आवश्यक रहेको बताएका थिए। अर्की सांसद सत्य पहाडीले न्यायोचित बजेट वितरण गर्नुपर्ने र समाजवादी अर्थनीति अवलम्बन गर्न बजेटमा व्यापक परिवर्तन गरेर जानुपर्ने धारणा आएको बताइन्।
‘सामजिक न्यायको आधारमा बजेट विनियोजन गर्नुपर्छ’, पहाडीले भनिन्, ‘संघीय संरचना कार्यकारी बनाएर जानुपर्छ भन्ने धारणा आएको छ।’
https://youtu.be/FS6gOn0Yc4g