प्रदेश ४ को तीन महिना लामो हिउँदे अधिवेशन सोमबारदेखि सकिएको छ।
स्थानीय तहको सभासञ्चालन सम्बन्धी कार्यविधि विधेयक पारित भएसँगै सभामुख नेत्रनाथ अधिकारीले हिउँदे अधिवेशन सकिएको जानकारी गराएका थिए।
सभामुख अधिकारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख बाबुराम कुँवरले पठाएको पत्र पढेर अधिवेशन अन्त्यको घोषणा गरे । हिउँदे अधिवेशनमा ३६ वटा बैठकबाट ८ वटा विधेयक पारित भएको छ।
सभाले प्रदेशसभा नियमावली, आर्थिक कार्यविधि विधेयक, सभामुख/उपसभामुख तथा प्रदेशसभा सदस्यहरूको पारिश्रमिक तथा सेवासुविधा, स्थानीय तहका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा सुविधा, मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सेवासुविधा, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी व्यावस्था, स्थानीय तहको सभा सञ्चालनसम्बन्धी विधेयक पारित गरेको छ।
माघ ७ गते प्रदेशसभा सदस्यको शपथ र २२ गतेदेखि अधिवेशन सुरू भएको थियो। प्रदेश ४ को सरकारले सोही अवधिमा नीति तथा कार्यक्रम र बजेट पास गरेको छ ।