पाँच नम्बर प्रदेश सभाको लागि तयार पारिएको प्रतिक चिन्ह ‘लोगो’ सोमबार सार्वजनिक भएको छ।
लोगो सिस्ने हिमाल,गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको उक्त लोगो दाङ तुलसीपुरका खगेश्वर भण्डारीले तयार पारेका हुन्।
प्रदेश सभा सदस्यको लागि तयार गरिएको लोगोमा रुकुममा रहेको उथा हिमालमा नेपालको राष्ट्रिय झण्डा, जलजला पहाड, लुम्बिनीमा रहेको मायादेवी मन्दिर, शान्तिद्वीप, लैङ्गिक समानता झल्किने गरि महिला पुरुषले हात मिलाएको र वरिपरि बाट धान र जौको बालाले घेरिएको छ।
त्यस्तै कर्मचारीको लागि तयार गरिएको लोगोमा उथा हिमालमाथि राष्ट्रिय झण्डा बुद्ध मूर्ति र १२ जिल्लाको प्रतिकको रूपमा १२ वटा गुराँसका फूललाई राखिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ निवासी भण्डारीले बनाएको त्यही लोगो नै अबदेखि प्रदेशसभा सदस्यहरुले प्रयोग गर्नेछन्।
आफूले बनाएको लोगो प्रदेशसभामा उत्कृष्ट भएवापत भण्डारीले नगद २५ हजार पुरस्कार प्राप्त गरेका छन्। सचिवालयले गत फागुन २४ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गर्नुको साथै उत्कृष्ट हुने लोगोलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको थियो।
सचिवालयको उक्त आव्हानसँगै विभिन्न १२ जनाले लोगो तयार गरी प्रदेशसभामा पठाएका थिए। जसमध्ये तिलोत्तमा ९ रुपन्देहीका सुधीर अर्यालले तयार पारेको लोगो दोस्रो भएको छ।
उक्त लोगो प्रदेशसभा सचिवालयका कर्मचारीले प्रयोग गर्ने प्रदेश सभा सचिवालयका सचिव मान बहादुर बिकले जानकारी दिए। दोस्रो हुने अर्याललाई १५ हजार रुपैंया पुरस्कार प्रदान गरिएको सचिवालयले जनाएको छ।
दुबै लोगोलाई प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती र कानुन मन्त्री कुल प्रसाद केसीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
त्यस्तै सोमबार नै प्रदेश सभा ५ को आधिकारीक वेवसाइट www.pradeshsabha.p5.gov.np को पनि सार्वजनिक गरिएको छ।