विवेकशील साझा पार्टीले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनुपर्ने माग गरेको छ।
शनिबार पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा सो कुराको माग गरिएको हो।
‘फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेका सांसदको पद निलम्बन हुने कानूनी व्यवस्था सुनिश्चित गर्नका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ जघन्य अपराध, गम्भीर र नैतिक पतन देखिने फौजदारी कसुरमा थुनामा रहँदा समेत सांसद पद निलम्बन हुनु हुँदैन भनी केही दल र सांसदहरूको दबाबप्रति विवेकशील साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ।’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गम्भीर फौजदारी अभियोगमा ३ वर्षभन्दा लामो समयका लागि अदालतले थुनामा पठाए पनि सांसदलाई निलम्बन गर्न नहुने अड्डी कसिरहेका छन् जसले गर्दा संसदको नियमावलीमा सहमति जुट्न सकिरहेको छैन।
सांसद विरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाउने खतरा रहेको भन्दै निलम्बन गर्न नहुने तर्क कांग्रेस र माओवादीले गर्दै आएका छन् भने मधेस केन्द्रीत दलहरूले पनि फौजदारी अभियोग लागेर थुनामा परे पनि सांसदलाई निलम्बन गर्न नहुने धारणा राख्दै आएका छन्।