कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राहत सामग्री बोकेर मुगुस्थित आगलागी पीडितको बस्तीमा गएका छन्।
शनिबार दिउँसो मुख्यमन्त्री शाही सेनाको हेलिकप्टरमार्फत् राहत सामग्री लिएर उक्त स्थानमा गएका हुन्।
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका–४ किम्री गाउँमा बिहिबार बिहान आगलागी हुँदा १९ घर जलेर पूर्ण रूपमा नष्ट भएका थिए।
मुख्यमन्त्री शाहीले ३४ थान त्रिपाल, स्लिपिङ ब्याग ११२ थान, तौलिया १७ थान, कम्बल ५१ थान, ज्याकेट ११२ थान ११२ जोर चप्पल तथा खाद्यान्न सामग्री लगेका छन्।
कार्मारोङ्ग गाँउपालिका—४ का वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरू भएको आगो गाउँभरी फैलिँदा ती घरहरू जलेका थिए। बिहान लागेको आगो दिउँसो ३ बजेतिर नियन्त्रणमा आएको थियो।
आगलागीबाट मुगुम कार्मारोङ गाँउपालिका–४ का छिरिङ्ग टासी लामा, फोन्जोक लामा, आङ्गडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, ग्याल्बो लामा, अङ्गजक लामा,जिक्टोल लामा,गारा छिरिङ्ग लामालगायतको घर जलेर नष्ट भएका थिए।
[caption id="attachment_155704" align="alignnone" width="528"]
मुगुको किम्रीमा रहेका आगलागी पीडितलाई राहत वितरणका लागि जाँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। तस्बिर : दिपकजंग शाही[/caption]