नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरेका छन्।
पार्टी कार्यालय सानेपामा शुक्रबार अपरान्ह बस्ने निर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री प्रस्ताव गर्ने कार्यक्रम छ।
सभापतिले प्रस्ताव गरेको नाममा छलफल गरी बैठकले अनुमोदन गरेपछि पदाधिकारी मनोनयन गरिन्छ। कांग्रेसको विधानमा अधिबेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्नुपर्ने उल्लेख भए पनि सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनित गर्न लागेका हुन्।
सहमतिमै पदाधिकारी चयन गर्न भन्दै वैशाख १७ गतेको बैठक आजका लागि सारिएको थियो। सह-महामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिएर सहमतिमै पदाधिकारी चयन गर्ने तयारीमा देउवा छन्।
उप-सभापतिमा विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले दाबी गर्दै आएका छन्। महामन्त्रीमा बालकृष्ण खाँण, पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की आकांक्षी छन्।
यस्तै सह-महामन्त्रीमा प्रकाशशरण महत र मानबहादुर विश्वकर्माले दाबी गरेका छन्। सह-महामन्त्रीमा पौडेल पक्षका महेश आचार्य, दीलेन्द्रप्रसाद बडु र नवीन्द्रराज जोशीले पनि दाबी गरेका छन्।
सभापति देउवा पक्षले एकलौटी तवरले पदाधिकारी मनोनित गरेमा विधानको कुरा झिक्ने तयारी पौडेल पक्षको छ। महाधिवेशन भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्ष बितेपछि गर्न लागेको भन्दै पौडेल पक्ष विधान देखाउने तयारीमा रहेको स्रोत बताउँछ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिमै पदाधिकारी मनोनित हुने बताए।