कम्युनिष्ट पार्टी भनेको नेताहरुको पार्टी हो : प्रचण्ड
सेतोपाटी संवाददाता
काठमाडौँ, वैशाख २१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी नेताहरुको पार्टी भएको बताएका छन्।
राजधानीमा काल मार्क्सको द्विशतवार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सिद्धान्तत कम्युनिष्ट पार्टी नेताहरुको पार्टी भएको बताएका हुन्।
‘कम्युनिष्ट पार्टी भनेको नेताहरुको पार्टी हो। हामी सबै नेता हो। यहाँ एउटा कार्यकर्ता अर्को नेता भन्ने होइन,' प्रचण्डले भने।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केहिदिन भित्रै एकता हुने बताए। एकतापछि एमाले र माओवादी नरहने र नयाँ पार्टी जन्म हुने उनले बताए।
‘हामीले माओवादी र एमाले विघटनको तयारी गरेका छौँ। नयाँ वस्तु र पार्टी निर्माण गर्ने तयारी गरेका छौँ। हाम्रो दिमागमा पुरानै आग्रह र पूर्वाग्रहबाट अगाडि जान सकिएन भने समस्या हुन्छ,' प्रचण्डको भनाई थियो।
उनले सगरमाथाको देशबाट २६ सय बर्ष अगाडि गौतम बुद्धले सन्देश दिए जस्तै पार्टी एकताको सन्देश दिनुपर्ने बताए। उनले 'आवेग र महत्वकांक्षामा बाँच्न चाहन्छु' भन्ने मार्क्सको भनाई उद्धरण समेत गरे।
‘मार्क्सले युवा अवस्थामा मलाई घिसिपिटी जिन्दगी मन पर्दैन, आवेग र महत्वकांक्षामा बाँच्ने हो, आवेग सहित मानव जातीको सेवा गर्ने हो भन्नु भएको थियो’, प्रचण्डले भने, ‘एमाले निरन्ततर एमाले रहिराखेर माओवादी निरन्तर माओवादी रहिराखेर चल्दैन। यो धन्दा गरेर अब राष्ट्र चल्दैन।'
https://youtu.be/sfIo21cmUNQ