प्याब्सन अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको भन्दै निजी विद्यालयले बढाएको शुल्क वृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष साम्वाहाम्फेले नियम नीतिकै आधारमा निजी विद्यालयले शुल्क वृद्धि गरेको स्पष्ट पारेका हुन्।
साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कूलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्, विद्यार्थीहरूले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छौं, निर्देशिका कार्यान्वयन गरेका छौं।’
कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन्।
निजी विद्यायल सञ्चालकहरूका पनि केही समस्या भए पनि उनीहरूले आफ्ना समस्या छन् भन्दैमा गरिबहरूको जीवनमाथि बज्रप्रहार गर्न नहुने उनको भनाइ छ।
उनले भने,‘निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूका अभिभावक धनी छैनन्, दिनभरि काम गरेर बालबच्चा निजीमा पढाइरहेका छन्, यस्तो स्थितिमा निजी विद्यालयले अनावश्यक मूल्य बढाएर हुन्छ, हामीले तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिसकेका छौं, आगामी दिनमा जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने सरकारी कर्मचारीलाई असहयोग गर्नेजस्ता कार्यक्रम हुन्छन्।’
सभापति महरले प्रत्येक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई २० प्रतिशत छुट्याउनुपर्ने पनि माग गरे । उनले थपे,‘सरकारी विद्यालयको स्तरोन्नति गर्नतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्छ।’
त्यस्तै, कार्यक्रममा एन–प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने स्पष्ट पारेका छन्।
उनले भने,‘समस्याको जरो पत्ता लगाउनुपर्छ, विद्यार्थी संगठनहरूको ताला लगाउने आन्दोलनको रूप अझै जारी छ, मुलुक धेरै परिवर्तन र विकासको बाटोमा हिँडिसक्यो, हाम्रा विद्यार्थी संगठनहरूले ताला लगाउने आन्दोलन फेर्न सक्नुभएन, हाम्रो मुुलुकमा ८ हजार निजी विद्यालय दर्ता छन्, जसमध्ये निक्कै महँगा भनिएका विद्यालयको संख्या १० जति होला, विद्यार्थी संगठनहरूले कुरै नबुझी आन्दोलन गर्छौं मात्रै भनेर हुन्छ?’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्क वृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारवाही गर्नुपर्ने माग गरेका छन्।
प्याब्सनका अध्यक्षले निर्देशिका पालना गरेको दाबी गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष तामाङले निजी विद्यालयले मनोमानी रूपमा शुल्क वृद्धि गरेको गम्भीर आरोप लगाए।
उनले भने,‘हाम्रो माग शुल्कवृद्धि फिर्ता हुनुपर्छ भन्ने हो, निजी विद्यालयले शिक्षामा ठूलो योगदान दिएका छन्, महंगी बढेको बाहनामा चर्को मूल्यवृद्धि गर्न निजी विद्यालयलाई छुट छैन, निर्देशिका कार्यान्वयन गर्ने कुनै विद्यालयनै छैनन्, यदि आज नै हामीसँग निर्देशिका मान्ने कमिटमेन्ट गर्नुहुन्छ भने हामीले अहिले नै ताला खोल्न निर्देशन दिन्छौं।’