प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनुकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने अवस्था आएको बताएका छन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरूले अब माग पुरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताए।
भेटघाटको सुरूवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हालेका अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए।
उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रधावकारी सुरूवात हुनु पर्नेमा जोड दिएका थिए।
भेटमा प्रधानमन्त्रीले भने, ‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौं। कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ, कसरी उत्पादनमा वृद्धि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिबद्ध छ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताए।
https://youtu.be/uBXr4N1KaP8