३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका एक पूर्वडिआइजीसहित ९ जना प्रहरी अधिकारीमाथि सुन तस्करीमा सघाउनेदेखि शाक्यका हत्यारा भगाउनेमा भूमिका खेलेको आरोप लागेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले तयार पारेको अभियोग पत्रमा पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउत र प्रहरी हवल्दार अमरबहादुर थापाले गोरे समूहलाई प्रत्यक्ष सहयोग गर्ने गरेको उल्लेख गरिएको छ।
अभियोग पत्रमा भनिएको छ, ‘विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउतसमेतलाई आर्थिक लाभ उपलब्ध गराई आपराधिक समूहको सञ्जाल भित्र समावेश गरी अवैध सुन चोरी पैठारी गर्ने कारोबारमा सहयोग लिएको देखिएको छ।’
उनीहरूले पदको दुरुपयोग गर्दैे विमानस्थल सुरक्षा गार्ड कार्यालयको कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य लजिष्टिक्सलगायत प्रयोग गरेर आफ्ना ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गर्न दिएको दाबी अभियोग पत्रमा गरिएको छ।
त्यसैगरी महानगरीय अपराध महाशाखा तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई सनम हत्यासँग जोडिएको छ।
अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरू बालकृष्ण संजेल र प्रजित केसीले घट्नाको वास्तविक तथ्यलाई लुकाई एक्कासी मोरङस्थित जिल्ला प्रहरी कार्यालयनजिक विराटनगरमा लाश भेटिएको भन्ने प्रतिवेदन दिए।’
महाशाखाका प्रहरीमाथि गोरेलाई भगाउन मद्धत्त गरेको आरोप पनि लागेको छ।
सनम शाक्यको हत्या मोरङको उर्लाबारीमा भएको थियो। शाक्यको हत्या गरी त्यसको फोटो गोरेल बालकृष्ण संजेललाई पठाएका थिए। सो फोटोबारे सञ्जेलले लोहनीलाई जानकारी गराएका थिए।
संजेलले फागुन १८ गते दिउँसो २ बजे गोरेले सनम शाक्यको हत्या गरेको फोटोसहितको तथ्य थाहा पाएपछि सोको जानकारी लोहनीलाई दिएको बयान दिएका छन्।
यातना दिने क्रममा मृत्यु भएको सनमको लाश गाड्नलाई खाल्डो खनिरहेका बेला गोरेलाई संजेलको दिएको आश्वासनपछि खाल्डो खन्ने कार्य बन्द गरी गाडीमा लास हालेर इटहरीतर्फ लाश लगेको देखिएको छ।
अभियोग पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा घटनास्थल देखि २/३ किलोमिटर नजिकै रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीलाई यति ठूलो गम्भीर घटनाको कुनै जानकारी वा सुइको दिइएन।’
गोरेसहितले मृतक सनम शाक्यको लास गाडीमा राखी सुनसरीको धरानतर्फ लगेका थिए।
‘उर्लाबारीदेखि धरानसम्म झण्डै आधा दर्जन इलाका प्रहरी कार्यालयहरू रहेकोमा जुनसुकै प्रहरी कार्यालयले सानो सूचना पाउँदा पनि तुरुन्तै गोरेसहितका प्रतिवादीहरुलाई पक्रन सक्ने अवस्था देखिन्छ,’ अभियोग पत्रमा भनिएकोछ, ‘प्रतिवादीहरू झापातर्फ भागेको अवस्थामा पनि सोही स्थिति देखिन्छ। झापा, मोरङ, सुनसरीमा रहेका सुरक्षा निकायलाई कुनै सुइकोसम्म नदिई काठमाडौंबाट मोरङ उर्लाबारीको घटनामा हस्तक्षेप गर्नु सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ४ को उपदफा (१) र दफा ५ का कानूनी प्रावधान विपरित छ।’
अभियोग पत्रमा दिवेश लोहनी र प्रजित केसीको महाशाखाले त्यसमा पनि कार्यालय प्रमुख दिवेश लोहनीले यस्तो बाध्यात्मक कानुनी प्रावधानको पालना नगरेको उल्लेख छ।