नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा गुट विवादले सभापति र महामन्त्रीले केन्द्रीय कार्यसमितको बैठक छुट्टाछुट्टै डाकेका छन्।
१२ औं महाधिवेशन साउनको तेस्रो साता तोकिएपछि नेविसंघभित्र आन्तरिक गुटवन्दी चर्किएको हो।
सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले महाधिवेशन लक्षित गर्दै बेग्लाबेग्लै बैठक डाकेका हुन्। एउटै कार्यसमितिमा रहेका उनीहरुले आफूपक्षीय बैठक राखेर महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने तयारी गरेका छन्।
वैशाख २८ देखि ३० सम्म सभापति महरले पार्टी कार्यालयमा बैठक डाकेपछि आफूहरूसँग छलफल नै नगरी डाकिएको भन्दै महामन्त्री काफ्ले समूहले पनि वैशाख २० गते वाल्मिकी विद्यापीठ प्रर्दशनीमार्गमा बैठक डाकेका छन्।
‘सभापतिले हामीसँग एक पटक पनि छलफल नगरी बैठक डाक्नुभयो। खासगरी महामन्त्रीले बैठक डाक्ने हो, त्यसैले हामीले बैठक डाक्यौं’, महामन्त्री काफ्लेले सेतोपाटीसँग भने, ‘बहुमत केन्द्रीय सदस्यको सहभागितामा हामी सामुहिक एजेण्डा तय गछौं।’
सभापति महरले विधि, विधान मिचेर संगठन चलाएको आरोप काफ्लेको छ। ‘सभापतिले डाकेको बैठक हामीले बहिष्कार गरेका छैनौं, हामी सक्रिय सहभागिता लिन्छौं’, उनले भने, ‘सभापति विधानअनुसार चल्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’
सभापति महरले एकलौटी ढंगले विवादित ११ जिल्लामा प्रतिनिधि तोकेको भन्दै काफ्ले समूहले बिरोध गर्दै आएको छ।
माउ पार्टी नेपाली कांग्रेसमा देखिएको गुटगट राजनीति नेविसंघमा पनि झ्याङ्गिएको छ। सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीबीच ११ औं महाधिवेशनमा उब्जिएको विवाद २० महिना हुँदा पनि सुल्झिएको छैन।
‘कम्तिमा पनि सभापति, उपाध्यक्ष, महामन्त्रीलगायत पदाधिकारी बसेर बैठकको मिति र ठाउँ तोक्ने तथा बैठकका एजेण्डाहरु तयार गर्नुपर्ने हो, काफ्लेले भने, ‘सभापतिले एकलौटी गर्नुभयो, कसैसँग पनि छलफल नगर्नु उहाँको कमजोरी हो।’
सभापतिले जालझेल गरेको उनले आरोप लगाए। ‘लोकतन्त्रलगायत तमाम् विद्यार्थी हकहितका लागि लड्नुपर्ने नेविसंघ अहिले संयुक्त विद्यार्थीका नाममा विज्ञप्ति र ज्ञापनपत्र बुझाउँदै हिँडेको छ। के यो काम नेविसंघले एक्लै गर्न सक्दैनथ्यो?’ उनले भने, ‘संयुक्त विद्यार्थीका नाममा नेविसंघले जहाँ पायो त्यहीँ सम्झौता र हस्ताक्षर गर्न पाइँदैन।’
यता सभापति महरले भने विधानअनुसार नै संगठन चलाइरहेको दाबी गरे। चुनाव हारेकाको उक्सावटमा लागेर केही साथीले आफ्नो विरोध गरे पनि त्यसप्रति ध्यान नदिएको बताउँदै उनले केन्द्रीय समिति बैठक सफल बनाउन र महाधिवेशन तयारीमा जुट्न आग्रह गरे।
‘सबै पक्षसँग छलफल गरी बैठक डाकेको हुँ। महाधिवेशन भाँड्ने खेलमा साथीहरू नलाग्दा राम्रो हुन्छ’, उनले सेतोपाटीसँग भने, ‘महाधिवेशन सफल बनाउन पो सबै लाग्नुपर्ने हो त!’
महाधिवेशन तथा बैठक तयारीका लागि आज (बुधबार) सभापति देउवा र महामन्त्री शशांक कोइरालासँग छलफल गर्ने कार्यक्रम रहेको उनले बताए।
‘संगठन चलाउन भागवण्डा गर्नुपर्ने पनि हुनसक्छ। तर, सधैं भागवण्डाले संगठन चलाउन सकिँदैन’, उनले भने, ‘अराजक गतिविधि छाडौं, ब्यक्तिवादी प्रवृत्ति त्यागेर संगठनलाई सक्रिय र मजबुद बनाउन सबैको सहयोग आवश्यक छ।’
११ औं महाधिवेशनदेखि नै क्याम्पस, विश्वविद्यालय, जिल्लामा नेविसंघको तीन वटासम्म समानान्तर समिति रहे पनि एउटै संगठन बनाउन नेतृत्व चुकेको विद्यार्थीको गुनासो छ। माउ पार्टीका नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थी नेताहरू सभापति देउवा निकट महरले विधान मिचेको भन्दै आलोचना गर्दै आएका छन्।