मोरङको पथरीशनिश्चरे नगरपालिकाको दोस्रो नगरसभाले १८ वटा योजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय गरेको छ।
हिउँदे अधिवेशनका रूपमा मंगलबार साँझ ५ बजे सम्पन्न नगरसभाले पथरीशनिश्चरे नगरबाट अर्काे नगरपालिकासँग जोडिने प्रकारका भौतिक विकासका योजना प्रदेश र संघीय सरकारमा पठाउने भएको हो। त्यसका लागि कुन योजना प्रदेशमा र कुन संघमा भन्ने कुरा कार्यपालिका बैठकले तय गर्ने उल्लेख छ।
सडक र पुलका ११, तटबन्धका तीनवटा, पर्यटन प्रवर्द्धनका दुइटा र कृषिका दुइटा योजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराए। उनले वडा नम्बर १ को जाँतेमोडबाट लेटाङको जाँते, पूर्वको प्रचुर पर्यटनको सम्भावना बोकेको मिक्लाजुङको आहाले हुँदै धनकुटाको ६ नम्बर बुधबारे जोड्ने सडक स्तरोन्नति गरी कालोपत्रेका लागि माग गरिएको जनाए।
त्यस्तै, रंगेलीसम्म जोडिने मनमोहन गान्धीमार्ग, वडा नम्बर १ को लोकतान्त्रिक चोकबाट सुरू भएको सुनवर्षीसँग जोडिने बुद्ध मार्ग, बक्राहामा पुलसहितको हुलाकी मार्ग, वडा नं १० को शिवालय मन्दिर दक्षिण मिलन चोक शुक्रबारे हुँदै सुनवर्षी जोड्ने सडक कालोपत्रेको माग गरिएको छ।
साथै, वडा नम्बर ७ को कल्याणचोकबाट कीर्तिपुर बुद्धमावि मंगलबारे हुँदै कानेपोखरी जोड्ने सडक, वडा १ बाट सुरू भई सुन्दरीचोक हुँदै सुगाबाट सुनवर्षी जोड्ने रजतजयन्ती मार्गको समेत कालोपत्रेको माग भएको छ। पथरी डाइनिया सडक मर्मत संहारको पनि माग छ।
जिरिखिम्तीबाट कानेपोखरी जोड्न मोरङ्गी खोलामा तथा वडा नम्बर २ र ३ बाट उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठान जोडिने बाटोमा पुल, जिरीखिम्ती दक्षिणबाट पूर्व त्रिवेणीचोकमा जोड्ने पुल निर्माणको योजनासमेत माथिल्लो निकायमा मागिने भएको छ ।
बक्राहा, डाँस र मोरङ्गी खोलाको दीर्घकालीन तटबन्धका साथै १० को भूटानी शरणार्थी शिविर क्षेत्रमा १ नम्बर प्रदेशको आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान र १ को भुल्के जालपादेवी मन्दिर र त्यसको आसपासका बहुजातीय मन्दिरलाई एकीकृत रूपमा धार्मिक पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ।
शीतभण्डार, खानेपानी तथा सिँचाइका कार्यक्रमसमेत माथिल्लो निकायमा मागिने उल्लेख छ। अव्यवस्थित बसोवासी, सुकुम्वासी र दोहोरो स्वामित्वको सवालमा सरकारले समस्या समाधानमा कानूनी बाधा अड्चन फुकाएर नगरबाटै त्यसको काम अघि बढाउने अधिकार समेत माग गरिने छ।
यस आर्थिक वर्षमा नगरमा भएका ५६१ योजनामध्ये हालसम्म १९५ वटा फर्छ्योट भएका छन्। न्यायिक समितिमा परेको २३८ निवेदनमध्ये १३७ वटाको मेलमिलाप गरिसकेको जानकारी पनि सम्मेलनमा प्रस्तुत भएको छ।
यसका साथै, वडा नम्बर १० को पशुपति बस्ती, ऐयाबारीको त्रिवेणी, मलामीघाट, दहिधाप र झोलुङ्गेपुल क्षेत्रबाट डाँसखोलाको गिट्टी, ढुंगा, बालुवा निकाल्न वातावरणीय प्रभाव मूल्यांकन गर्ने पनि निर्णय पारित भएको प्रवक्ता गुरागाईंले जानकारी दिए।
नगरका विकास निर्माणका योजनासहितका समग्र विषयमा पत्रकारले सुझाव समेत राखेका छन् । प्रवक्ता गुरागाईंका साथै वडाध्यक्ष बाबुराम एङ्देन, गोविन्दबहादुर भण्डारी र कपिलमणि ढकाल, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र स्वास्थ्य संयोजक मुरारी आचार्यले सम्बन्धित विषयमा प्रष्ट्याए।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न नगरसभाले नगरपालिकाको प्रशासनिक कामलाई व्यवस्थित गर्न ऐन निर्माणका लागि प्रशासकीय कार्यविधि विधेयक पारित गरेको छ ।
नगरसभामा नगर प्रमुख राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका साथै वडाध्यक्ष, विभिन्न विषयगत शाखा र विषयगत कर्मचारीले नगरपालिकामा भएका योजना तथा गतिविधिबारेमा जानकारी गराएका थिए।रासस