कर्णाली प्रदेशका अधिकांश सांसदले यही वैशाख १६ गतेको हावा, हुरी तथा असिनापानीले पुर्याएको क्षतितर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
पहिलो अधिवेशनअन्तर्गत २१ औँ बैठकमा बोल्दै मंगलबार सांसद् सुशिल थापाले हावा, हुरी तथा असिनापानीले बालीमा क्षति पुर्याएका किसानलाई राहत माग गरे। हावा, हुरीले दैलेखको दुल्लुमा बसोबास गरिरहेका मुस्लिम तथा दलित समुदायका घरका छानो उडाएकाले उनीहरूलाई पनि राहत दिन सांसद थापाले जोड दिए।
अर्का सांसद् पदमबहादुर रोकायाले नेपालको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानको संरक्षणका लागि पहल गर्नुपर्ने माग गरे। उनले आफूहरू गाउँ जाँदा जनताले बजेटबारे जान्न चाहने भएकाले कुन ठाउँमा कति बजेट पारिएको छ भनी सांसदहरूलाई जानकारी गराउन प्रदेश सरकारसँग माग गरे।
सांसद् विन्दमान विष्टले कर्णाली प्रदेशका जनताले यातायात, सञ्चार, दैवीप्रकोप, महामारी लगायत समस्या झेल्दै आएको भन्दै जनताप्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए।
अर्का सांसद् चन्द्रबहादुर शाहीले सरकारले खडा गरेको आकस्मिक कोषमा रहेका बजेट कम भएको भन्दै आपत्ति जनाए। प्रदेशभित्र विभिन्न विपद आइपर्ने हुँदा कोषमा रहेको १ करोड रुपैयाँ अपुग हुने भन्दै बढाउन प्रदेश सरकारसँग माग गरेका छन्।
सांसद्हरुको जिज्ञासाको उत्तर दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राज्य कोषबाट जतिबेला पनि रकम निकाल्न सकिने गरी आकस्मिक कोष स्थापना गर्न लागिएको बताए। यो आकस्मिक कोष सञ्चालनका लागि मापदण्डसहितको कार्यविधि बनाउने र रकम दुरुपयोग हुन नदिने उनको भनाइ थियो। उनले चालू आर्थिक वर्षको असार मसान्तसम्मका लागि उक्त कोषमा १ करोड रुपैयाँ राखिने बताए।
यसैबीच, मंगलबारै बसेको संसदको २२ औँ बैठकमा सभामुख राजबहादुर शाहीले पहिलो अधिवेशन समापन भएको घोषणा गरेका छन्।
उक्त बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले नयाँ अनुभव तथा अभ्याससहित अधिवेशन सम्पन्न भएको प्रतिक्रिया दिए।
उनका अनुसार नियमावलीको व्यवस्थाअनुरुप विशेष समय शून्य समय प्रयोग गरिएको छ भने सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ढ्यापढ्यापे अभ्यास हुन बाँकी छ। नेता कँडेलले संसदले परिपक्व र दुरगामी महत्व राख्ने कार्यहरु गरेको बताए।
उनले अनुसार जटिल विषय राजधानी तोक्ने र नामाकरण गर्ने कार्यलाई सर्वसम्मत् गरिनु आफैँमा गर्वलाग्दो निर्णय भएको बताए। यसका साथै अब आगामी अधिवेशनलाई अस्थायी भवनमा नभई प्रदेश सभाको स्थायी भवनमा बैठकहरु बस्ने गरी काम गर्न सभामुखमार्फत संसद् सचिवलाई आग्रह गरे।
माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले जनशक्ति, स्रोतसाधन अभाव भए पनि संसद्ले काम कारबाही अघि बढाउनु सकारात्मक र अनुकरणीय भएको बताइन्। उनले कर्णाली प्रदेशमा पक्ष–विपक्षविहीनजस्तै देखिएको, आर्थिक कार्यविधि, आर्थिक बर्षको बजेट पारित, केही विधेयक अघि बढाइएको, चारवटा विषयगत समिति बनाइएको जस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको बताइन्।
नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले प्रदेश सभाले उत्कृष्ट, प्रशंसनीय काम गरेको भन्ने पक्ष वा विपक्षमा आफूहरु नरहेको बताए। नयाँ संरचनाको सुरुआत भएको हुँदा कर्णालीलाई समृद्ध बनाउन केही बाटा संसदले तय गरेको उनको भनाइ छ। उनले अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै सबैसँग सहकार्य गर्दै नेपाली कांग्रेस अघि बढ्ने विश्वास व्यक्त गरे।
बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालको सचिवालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपछि उनले संसद्को पहिलो अधिवेशन समाप्त भएको घोषणा गरेका थिए।