नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै उनले भने, ‘कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ। लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन। जो पनि अध्यक्ष हुन सक्छ। अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ।’
राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गर्दै सचिव भटृराईले भने, ‘विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन। यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ। पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन।’
उनले भारतसँगको सम्बन्ध सुधार्दै सरकारले समृद्धि र स्थिरताको खाका ल्याउनु सकारात्मक विषय भएको बताए। रासस