नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन्।
रक्षामन्त्री समेत रहेका महासचिव पोखरेलले पार्टी एकताबाट भाग्ने छुट कुनै पनि नेतालाई नरहेको स्पष्ट पारे।
उनले पार्टी एकतालाई प्रतिशतको आधारमा भागबण्डा गर्न नमिल्ने तर्क पनि गरे।
महासचिव पोखरेलले पार्टी एकता समानताको आधारमा हुने र त्यसले दुवै पार्टीका नेता, कार्यकर्तालाई न्याय र सम्मान गर्ने दाबी पनि गरे।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिष्ट पार्टीबीचको एकता मुलुकको आवश्यकता र जनताको चाहना भएको उल्लेख गरे।
रक्षामन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्न पनि सबै मजदूर संगठनहरूलाई आग्रह गरे। जनताको आकांक्षालाई पुरा गर्न ‘काउन डाउन’ सुरू भएकाले सोही अनुसार काम गर्ने उनको प्रतिबद्धता छ।
रक्षामन्त्री पोखरेलले जनताको अपेक्षा अनुसार काम नगर्ने राजनीतिक दलहरूको भविष्य नरहेको पनि बताए।
https://youtu.be/yFyxejOg0m0