लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दिक्षान्त सम्पन्न भएको छ। लुम्बिनीमा भएको दिक्षान्तमा विद्यावारिधि र स्नातकोत्तर तहमा गरी १ सय ७ जना विद्यार्थी दिक्षित भए। सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गर्ने बताए। कानुन निर्माण गरेरै प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागेको उनले बताएका हुन्।
कुलपति समेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका निभाएको बताए।
‘बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षसम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गनुपर्छ, उनले भने। उनले नेपाल बुद्धजन्मस्थल मात्रै नभएर बुद्ध धर्मको उद्गम थलोका रुपमा समेत रहेको बताए।
प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न आवश्यक रहेको समेत बताए। ‘अहिले थोरै विद्यार्थी दिक्षीत भए, अर्को समारोहमा धेरै विद्यार्थी दिक्षित हुनुपर्छ,’ ओलीले भने, ‘विदेशी विद्यार्थीलाई बौद्ध जन्मस्थलमै पढ्ने वातावरण बनाउने काममा सरकारले सघाउनेछ।’
कार्यक्रममा दीक्षान्त मन्तव्य दिदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकका उपकुलपति प्रा.डा.गल्ल्ये सुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए।
कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्टार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्य लगायतले बोलेका थिए।