गत वर्ष भएका प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीले व्यहोरेको हारको जिम्मा कांग्रेस केन्द्रीय समितिले लिने भएको छ।
पार्टीका कार्यालय सानेपामा एक महिनादेखि चलेको केन्द्रीय समिति बैठकले हारको जिम्मा आफैंले लिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
यस विषयमा जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन हुँदैछ।
यसअघि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले हारको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने माग गर्दै आएका थिए। देउवाकै कार्यशैलीका कारण पार्टीले हार व्यहोरेको उनीहरूको जिकिर थियो।
सभापति देउवाले भने हार्नुका पछाडि वाम एकता, अन्तर्घात र उम्मेदवारको कमजोरी भएको बताउँदै आएका थिए।
केन्द्रीय समिति बैठकले कार्यसम्पादन र संसदीय समिति विघटन गर्ने निर्णय पनि गरेको छ।
आगामी भदौमा महासमिति बैठक गर्ने निर्णय भएको पनि नेता पौडेलले जानकारी दिए।