प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र जनताको जीवनस्तरमा आमूल परिवर्तन हुने गरी सरकारले काम गर्ने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले आफूसँग भएको समयको अधिकतम सदुपयोग गर्दै मुलुकको आयआर्जनमा लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
आइतबार बुटवलमा प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले समयको अधिकतम सदुपयोग गर्दै प्रदेश जनताको जीवनस्तरमा परिवर्तन ल्याउन प्रदेश सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए।
प्रधानमन्त्री ओलीले जाडोमा कुनै पनि नेपालीले चिसिएर ज्यान जानपर्ने अवस्थाको अन्त्य गर्न आफू प्रधानमन्त्री भएको पनि दोहोर्याए। उनले मुलुकमा प्राप्त प्राकृतिक स्रोत/साधनको अधिकतम सदुयोग गरेर मुलुकलाई समृद्ध बनाउने योजना पनि सुनाए।
प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय तहमा काम गर्न सहज होस् भनेर सरकारले कानून निर्माणको कामलाई तीव्रता दिएको पनि बताए। उनले संविधान अनुसार संघीय कानून निर्माण गर्ने र त्यसपछि प्रदेश र स्थानीय तहलाई आवश्यक कानूनको व्यवस्था गर्न विज्ञहरूसहितको टोलीले कानून मस्यौदा निर्माण कार्यलाई अघि बढाएको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले पानीदेखि सुनखानीसम्मलाई अधिकतम सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा साथ दिन पनि सबैसँग आग्रह गरे।
प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थल रहेको प्रदेश ५ लाई छिट्टै समृद्ध बनाउन सकिने धारणा पनि राखे।
https://youtu.be/n2X34_g5rmg