प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा विमानस्थलमा आउने जहाजका लागि एयर रूटका दिन भारतसँग कुराकानी भइरहेको बताएका छन्।
प्रदेश नम्बर पाँचको संसद बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताए।
‘भारतले एउटा मात्र एयर रूट दिएकाले हामीलाई अप्ठेरो छ, फेरि वीरगञ्जबाट सिमरा हुँदै यता आउने तरिका उपयुक्त होइन्, दिल्लीबाट सिधै यता आउन किन नमिल्ने?,’ ओलीले भने, ‘मैले यो विषयमा भारत भ्रमणका क्रममा कुरा गरेको छु।’
उनले भारतले जमिनसँगै आकाशमा पनि कञ्जुस्याइँ गरेको बताए।
‘जमिनमा मात्र होइन आकाशमा पनि कन्जुस्याइँ गर्नुको कुनै आवश्यकता छैन, नयाँ एयर रूट लिन्छौं, भैरहवा विमानस्थल चल्छ,’ ओलीले भने।
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब राजनीतिक संक्रमण सकिएकाले अब सरकार आर्थिक विकासमा केन्द्रीत हुने बताए।