चुनावी हारको समीक्षा गर्न चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केहीबेरमा पार्टी कार्यालय सानेपामा सुरू हुँदैछ।
महामन्त्री शशांक कोइरालाले आइतबारको बैठकमा चुनावी पराजयको विषयमा जिल्लाबाट आएका तथा केन्द्रमा छलफल भएका बिषयबस्तु समेटिएको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
महामन्त्री कोइरालाले बैठकमा निर्णायार्थ पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले छलफल गर्न पाउँछन्। चित्त नबुझेका बिषयमा छलफल गर्ने र सहमति जुटाएर बैठक समापन गर्ने तयारी रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीलाई जानकारी दिए।
‘महामन्त्रीले प्रतिवेदन पेश गर्ने, प्रतिवेदनमाथि छलफल तथा राय, सुझाव लिएपछि बैठकले सो प्रतिवेदन पास गर्ने कार्यक्रम छ,’ उनले भने।
शनिबार नै बैठक सक्ने तयारी गरेको काँग्रेसले सहमति जुटाउने भन्दै आजसम्म बैठक लम्ब्याएको थियो।
चुनावी हारको समीक्षा गरेको प्रतिवेदन बैठकले सहमतिमै पास गरेपछि सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको शर्माले बताए।
कांग्रेसमा चुनावी हारको जिम्मा कसले लिने भन्ने बिबाद छ। संस्थापन पक्षले सभापतिले मात्रै चुनावी हारको जिम्मा लिन नसक्ने बताउँदै आएको छ भने नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत पक्षले नेतृत्वले चुनावी हारको जिम्मा लिनुपर्ने बताउँदै आएका छन्।