शनिबार बिहान ९ बजेका लागि तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेपछी आइतबारलाई सरेको छ।
सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले महामन्त्रीले वैठकमा पेश गर्ने प्रस्तावमाथि सहमति खोज्न औपचारिक बैठक भने बसेको थियो। सहमति नबनेपछि आज औपचारि बैठक बस्न सकेन। चुनावी हारको समीक्षा गर्न चैत ९ गतेदेखि कांग्रेस बैठक जारी छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, आइतबार महामन्त्री शशांक कोइरालाले चुनावी हारको कारणहरुसहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
आइतबारै बैठक टुङ्ग्याइने पनि उनले बताए।
‘आज औपचारिक रुपमा बैठक बसेन। सभापति, बरिष्ठ नेता, महामन्त्रीलगायत सबै नेताहरु पार्टी कार्यालयमा अनौपचारिक छलफलमै जुटिरहनुभएको छ। आइतबार सभापतिले धारणा राखेपछि बैठक सकिन्छ’ शर्माले सेतोपाटीसँग भने।
चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा संस्थापन पक्ष र अरु नेताहरुबीच विवाद हुँदा बैठक लम्बिएको स्रोतको दाबी छ।
नेता पौडेल, सिटौलालगायतले चुनावी हारको जिम्मा सभापतिले लिनुपर्ने बताउँदै आएका छन्। तर सभापति देउवालगायत उनको पक्षका नेताहरुले चुनावी हारको जिम्मा सबैले लिनुपर्ने र पार्टीलाई थप सशक्त रुपमा अघि बढाउनुपर्ने बताउँदै आएका छन्। ‘बैठकमा निर्णयार्थ पेश गर्ने प्रस्ताव सहमतिमै ल्याउन गृहकार्य भइरहेको छ’ शर्माले भने।