दाङ तुलसीपुरका खगेश्वर भण्डारीले तयार पारेको लोगो प्रदेश नम्बर ५ मा प्रथम भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १ निवासी भण्डारीले बनाएको त्यही लोगो नै अबदेखि प्रदेशसभा सदस्यहरुले प्रयोग गर्नेछन्। भण्डारीको लोगो केही परिमार्जनसहित स्वीकृत भइसकेको संसद सचिवालयले जानकारी दिएको छ।
प्रदेशसभा सचिवालयले सार्वजनिक शुक्रबार त्यस्तो जानकारी दिएको हो। यो सँगै भण्डारीले नगद २५ हजार पुरस्कार जितेका छन्।
सचिवालयले २०७४ सालको फागुन २४ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो। त्यसका लागि १२ जनाले लोगो प्रदेशसभामा पठाएका थिए। ती मध्ये प्रतिपर्धाको आधारमा दाङको तुसलसीपुर उपमहानगरपालिका वडा नं. १ निवासी भण्डारीले पठाएको लोगो प्रथम भएको प्रदेशसभा सचिवालयका प्रवक्ता ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
त्यस्तै प्रतियोगितामा तिलोत्तमा ९ रुपन्देहीका सुधीर अर्यालले तयार पारेको लोगो दोस्रो भएको छ। उक्त लोगो भने प्रदेशसभा सचिवालयका कर्मचारीले प्रयोग गर्ने जानकारी संसद सचिवालयले दिएको छ। प्रथम हुने भण्डारीलाई २५ हजार र दोस्रो हुने अर्याललाई १५ हजार रुपैंया पुरस्कार प्राप्त गर्ने जानकारी दिइएको छ।