शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनिवार्य शिक्षा निति ल्याउने तयारी भइरहेको बताएका छन्।
अहिले पनि धेरै विद्यार्थी विद्यालय नजाने गरेको भन्दै मन्त्री पोखरेलले ४ महिनाभित्र अनिवार्य शिक्षा निति ल्याउन लागेको जानकारी दिए।
यो निति कार्यान्वयन भएपछि बच्चाहरूलाई विद्यालय नपठाउने अभिभावकलाई कारवाही हुने उनले बताए।
दलित महिला उत्थान संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले अहिले पनि अपांग, दलित, मुस्लिम, सिमाङ्ककृत, र आर्थिकस्तर कमजोर भएका वर्गहरूको विद्यालयसम्म सहज पहुँच नभएको भन्दै सरकारले विद्यार्थीलाई विद्यालय जाने वातावरण सिर्जना गर्न तल्लिन रहेको स्पष्ट पारे।
‘आर्थिक, भौगोलिक विकटता, साँस्कृतिक कारणले विद्यालय नजानेको संख्या धेरै छ, हामी यो समस्या चाँडै हल गर्छौं’ उनले भने।
कार्यक्रममा मन्त्री पोखरेलले छात्राहरूलाई ‘महत्वकांक्षी छात्राकोष’ छात्रवृत्ति पनि वितरण गरे।
संघले विगतका वर्षमा यो छात्रवृत्ति ३० जनालाई मात्र प्रदान गरे पनि यो वर्षबाट भने १ सय जनालाई प्रदान गर्न थालेको संघकी संस्थापक अध्यक्ष तथा संरक्षक विष्णुमाया परियारले जानकारी दिइन्।
संघले विगत देखिनै देशका विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न प्रकारका छात्रवृत्ति वितरण गर्दै आइरहेको छ।