क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान ओली सरकार कम्युनिष्ट र वामपन्थी सरकार नभएको जिकिर गरेका छन्।
शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नै वैद्यले देश विरोधीहरुले षड्यन्त्र गरेर आफ्नो सुरक्षा कवच बनाएका दाबी गर्दै यो सरकार कतै पनि कम्युनिस्ट र वामपन्थी नभएको जिकिर गरे।
‘युवा साथीहरु सबै जाग्न जरूरी छ। यो फोर्स ले देश जगाउन लागि ठूलो भूमिका खेल्छ। आज नेपालमा वामपन्थी कम्युनिस्ट सरकार छ भनेर सबैले भन्छन् तर प्रष्ट हुन जरुरी छ कि यो होन। देश विरोधीहरुले षड्यन्त्र गरेर आफ्नो सुरक्षा कवच बनाएका छन् यो कतै पनि कम्युनिस्ट र वामपन्थी होइन।’
वैद्यले सम्बोधन गर्दै युवाको फोर्सले देश जगाउन ठूलो भूमिका खेल्ने बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमको खेती गरेको आरोप पनि लगाए।
‘विकासको बारेमा प्रधानमन्त्री केपी ओलीले भनिरहनु भएको छ। तर, उहाँले सबैलाई भ्रमित बनाएर बोल्दै हुनुहुन्छ। खै त देशको सीमा बारे बोलेको?’ उनले भने,‘ प्रधानमन्त्रीले चाहिने कुरा केही बोल्नुहुन्न।’
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिपी गजुरेलले समृद्ध नेपाल सुखी नेपाल बनाउने नारा लगाउनेले नै भ्रम पैदा गरेको बताए।
उनले भारत भ्रमण गर्नुअघि नयाँ सन्धी गर्दिनँ भनेर ओलीले भनेको स्मरण गर्दै भारत भ्रमणमा उनले आजभन्दा अगाडि भएका सन्धी सम्झौता अझै बढाउँछ भनेर आएको र राष्ट्रघात गरेको आरोप लगाए।
नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले शुक्रबार मार्चपास गरेको छ।
लिगको ३ नं. प्रदेशको आयोजनामा भएको मार्चपासमा उपत्यकासहित ३ नं. प्रदेशका युवाहरू सहभागी थिए।
रत्नपार्कको खुल्लामञ्चमा जम्मा भएर बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धरा, न्यूरोड हुँदै क्रान्तिकारी युवाहरुको मार्चपास इन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो।