प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पपछिको पुनर्निर्माणको काममा गति दिन सरकारसँग माग गरेका छन्।
मुख्यमन्त्री पौडेलले अहिले पनि पीडितले बास नपाएको भन्दै पुनर्निर्माणको काममा ढिलाई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका हुन्।
शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रदेश ३ को राजधानी हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूकम्प गएको ३ वर्षबित्दा समेत पीडितले आवास नपाएको भन्दै चिन्ता व्यक्त गरे।
उनले सरकारले अब छिटोभन्दा छिटो आवास निर्माणको काम सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए।
यो वर्ष पनि सबै पीडितले वर्षामा आवासमा बस्ने अवस्था नआउनु दुःखद भएको मुख्यमन्त्री पौडेलको भनाइ छ। उनले पुनर्निर्माणको काममा ढिलाई हुनुको कारण आफूले बुझ्न नसकेको पनि बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अबको एक वर्षभित्र निजी आवास निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।